मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाउने २९ हजार ४४७ करदाताको विवरण सार्वजनिक

असोज २८, काठ्माण्डौ – आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाउने २९ हजार ४४७ करदाताको विवरण सार्वजनिक गरेको छ। विभागले नेपालमा भ्याट प्रणाली लागू भएयता २०७५ असार मसान्तसम्मको नियमित कर विवरण पेश नगरेका करदाताको नाम अद्यावधिक गरी सार्वजनिक गरेको छ। अहिलेसम्म करिब २ लाख ६० हजार करदाता भ्याटमा दर्ता भएका छन्।  तीमध्ये कर नबुझाउनेको सूचीमा रहेका २९ हजार ४४७ करदाताको नाम विभागले  सार्वजनिक गरेको हो। यीमध्ये अधिकांश व्यवसाय बन्द भइसकेको अनुमान गरिएको छ। आफ्नो कारोबारको नियमित कर नबुझाउनेमा ठूला व्यवसायी र उद्योगीसमेत छन्। त्यसबाहेक कतिपय मृत्यु भइसकेका व्यक्तिका नाममा रहेका कम्पनी र फर्मले पनि भ्याट विवरण नबुझाएको देखिन्छ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार व्यवसायी वसन्तकुमार चौधरीको नाममा रहेको इम्प्याक्ट इन्टरनेशनलले भ्याट विवरण बुझाएको छैन। २०५६ भदौमा भ्याटमा दर्ता भएको यो कम्पनीले २०७१ सालदेखिको भ्याट विवरण नबुझाएको विभागले जनाएको छ। त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका उद्योगी सुरज वैद्यका विभिन्न कम्पनीले पनि वर्षौंदेखि भ्याट नतिरेको देखिएको छ। वैद्यको नाममा रहेको निर्वाणा टी प्रोसेसिङ एण्ड प्याकेजिङ प्रालि २०६१ असोजमा भ्याटमा दर्ता भए पनि २०६५ सालपछिको भ्याट विवरण बुझाएको छैन।

विभागका अनुसार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको नाम भ्याट नबुझाउनेको सूचीमा परेको छ। आन्तरिक राजस्व विभागका अनुसार बास्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले २०७० सालपछि भ्याट विवरण बुझाएको छैन। त्यसैगरी रसुवा/अजम्बर/शिवराम जेभीले २०६९ सालपछिको भ्याट विवरण दाखिला गरेको छैन। रसुवा कन्स्ट्रक्सन नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका मोहन आचार्यको कम्पनी हो। रसुवा कन्स्ट्रक्सले पप्पु कन्स्ट्रक्सन र रोशन कन्स्ट्रक्सनसँग साझेदारी गर्दा पनि २०७२ सालयताको भ्याट विवरण नबुझाएको विभागले जनाएको छ। अर्का पूर्व सांसद जनार्दन ढकालको सूर्यचन्द्र कन्स्ट्रक्सन प्रालिले पनि २०५७ सालयताको भ्याट विवरण नबुझाएको विभागको विवरणमा उल्लेख छ। अर्का सांसद बहादुरसिंह लामाको हिम्डुङ कन्स्ट्रक्सनले २०६१ सालपछिको भ्याट विवरण बुझाएको छैन। हिम्डुङले थोकर र एडी बिल्र्डर्ससँग २०६५ सालमा साझेदारी गरेको काममा पनि भ्याट बुझाइएको छैन। सोही कम्पनीले गुल्लिभर वल्र्ड कन्स्ट्रक्सनसँग साझेदारी गर्दा २०६२ सालमा भ्याटमा दर्ता भए पनि २०७० पछि भ्याट विवरण बुझाएको छैन। थापाथलीस्थित राजीव विक्रम शाहको जेआरपी टे«डिङले पनि २०६३ सालपछिको भ्याट बुझाएको छैन।

लामो समयदेखि आफ्नो कारोबारको विवरण र कर नबुझाएका करदातालाई कर बुझाउने अन्तिम मौकास्वरुप नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। अब पनि कर बुझाउन अटेर गर्नेको नाम कालोसूचीमा राखेर सम्बन्धित कम्पनी तथा फर्मलाई भ्याटबाट दर्ता खारेजीको प्रकृया अघि बढाउने विभागका सञ्चालन महाशाखा प्रमुख मुक्तिप्रसाद पाण्डेले बताए। कानुन अनुसार कारोबार बन्द भएपछि त्यसको विवरण आन्तरिक राजस्व विभागलाई बुझाउनुपर्छ। यसरी विवरण नबुझाएका कारण अधिकांश फर्म र कम्पनीले भ्याट नतिरेको देखिई त्यस्ता करदाता ‘नन फाइलर’ को सूचिमा पर्छन्। पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी कतिपय बन्द भइसकेका व्यवसायका करदाता नन फाइलरको सूचिमा परेका भए पनि कतिपयले भने कर छल्ने हिसाबले कारोबार नै नभएको देखाएको हुनसक्ने बताउँछन्। “आन्तरिक राजस्व विभागले छानबिनको अभियान नै चलाएर कर छल्ने उदेश्यले विवरण नबुझाएलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन”, सुवेदीले भने।

0 Reviews

Write a Review

adminbikash

Read Previous

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

Read Next

सरकारले संक्रमितको उपचार र परीक्षण खर्च नब्यहोर्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *