बाबुराम भट्टराईको आरोपको नेकपाद्वारा खण्डन

सत्तारूढ दल नेकपाले बूढीगण्डकी आयोजनामा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले अर्बौं घुस लिएको पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको आरोपको खण्डन गरेको छ । नेकपाले बाबुराम भट्टराईको आरोपलाई आधारहीन, झूठ र कपोलकल्पित भन्दै प्रमाण पेस गर्न चुनौती दिएको छ । बूढीगण्डकी आयोजनामा ओली र प्रचण्डले अर्बौं घुस लिएको भट्टराईको अभिव्यक्तिले राजनीति तरंगित बनिरहेका बेला नेकपाले विज्ञप्ति जारी गरेर त्यसबारेको मौनता तोडेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेर बाबुरामको आरोपलाई आधारहीन भन्दै भत्र्सना गरेका छन् ।  ‘हालै केही दिनअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हाम्रा पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डसमेतले बूढीगण्डकी परियोजनामा अर्बों रकम घुस लिएको भनी सार्वजनिक रूपमा प्रकट गरेको अभिव्यक्ति बिल्कुल आधारहीन, झूठ, गलत, कपोलकल्पित एवं दूराशयपूर्ण रहेकाले नेकपा त्यसलाई पूर्ण रूपमा खारेज गर्दै घोर भत्र्सना गर्दछ,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता श्रेष्ठले तथाकथित प्रमाण भए सार्वजनिक रूपमा र राज्यको सम्बन्धित निकायमा पेस गर्न पनि बाबुरामलाई चुनौती दिएका छन् । साथै नेकपाले जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आएकाले सार्वजनिक क्षमायाचना गर्न पनि माग गरेको छ ।  केही दिनअघि गृह जिल्ला गोरखा पुगेका बाबुरामले बूढीगण्डकी आयोजनामा प्रचण्ड, केपी ओली र नेकपाका सभापति शेरबहादुर देउवाले अर्बौं भ्रष्टाचार गरेको दाबी गरेका थिए । त्यसको प्रमाण आफूसँग भएको दाबी पनि भट्टराईले सो कार्यक्रममा गरेका थिए ।
बाबुरामको यस्तो अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दलले खण्डन गरे पनि नेकपा मौन देखिएको छ । नेकपाले बुधबार विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेसँगै अब बाबुराम प्रमाण दिने वा सार्वजनिक आत्मालोचना गर्नुपर्ने दुई विकल्प अगाडि खडा भएका छन् । तर बाबुरामले एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै आफूसँग प्रमाण रहेको र दिन नसके मृत्युदण्ड भोग्न पनि तयार रहेको बताएका छन् ।
बूढीगण्डकीमा नेकपा अध्यक्षद्वयले भ्रष्टाचार गरेको दाबी गर्ने तपाईंले प्रमाण किन दिन नसकेको भन्ने जवाफमा भट्टराईले भनेका छन्– त्यो त सम्बन्धित निकायलाई दिने हो । सडकमा लगेर पोख्ने होइन नि ! यसबारे छानबिन गर्न अधिकारसम्पन्न आयोग बन्यो र त्यसमा तपाईंले प्रमाण दिन सक्नु भएन भने अपराधी करार गरेर कारबाही भोग्न तपाईं तयार हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा भट्टराईले मृत्युदण्ड भोग्न पनि तयार रहेको बताएका छन् ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

चेक अनादर : एउटै कसुरमा दुईवटा कानून

Read Next

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *