‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल

 १५ माघ, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल हुने भएको छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गर्नुभएको थियो । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभयो । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

आजै सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन । आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुभारम्भ गर्नुभएको थियो ।

समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरिएकोमा उक्त समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।

कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

मिडिया काउन्सिल विधेयक विधायन समितिबाट पारित

Read Next

काठमाडौंमा क्यान इन्फोटेक फागुन २ देखि ७ सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *