सम्पादकहरुको मुटुबारे प्रधानमन्त्री ओलिले के भन्नु भएको थियो ?

२ माघ, काठमाडौं– गत पुस २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँगको भेटमा दिनु भएको मन्तब्यलाई लिएर नेपाली छापा माध्यम लगायतका मिडिया तरङित भएको अवस्ठा छ । अहिले मूलधारका कतिपय  छापा माध्यमले प्रधानमन्त्रीले सम्पादकमाथि जाइलागेको टिप्पणी छाप्ने अभियान नै चलाएका छन् । करिव ३५ मिनेट लामो सो सम्बोधनमा प्रधानमन्त्रीले के भन्नु भएको थियो त ? उक्त सम्बोधनको पूर्ण अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ । 

मैले घोषणा गरेको छु– यति उर्वर देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन । तपाईंहामी सबैले बाटाका छेउमा बालबालिकाहरु कुकुरसँग लडाँई गरेर खानेकुरा टिपिरहेको देख्थ्यौं । तर, अहिले यो सरकार बनेपछि तपाईले सडकमा बालबालिका देख्नुहुन्न किनभने उनीहरुलाई राख्ने, बसाउने, पढाउने प्रबन्ध फरक ढंगले गरिएको छ । त्यसकारण सडक बालबालिकाबाट नेपाल मुक्त छ । सडक किनारामा जिङ्रिङ्ग कपाल बढिराखेको मानिसहरु हुन्थे, घाउ भइराखेको हुन्थ्यो, झिँगा भन्किराखेको हुन्थ्यो, कुकुरसँगै सुतिराखेको हुन्थ्यो, कुकुरले घाउ चाटिराखेको हुन्थ्यो, कागले ठुंगीराखेको हुन्थ्यो । त्यस्तो हामीले सडकको किनारामा देख्थ्यौं भने आज सडक मानव भन्ने नेपालमा छैनन् । हामी सडक मानव खोजीखोजीकन उठाएर त्यस्को प्रबन्ध गरिराखेका छौं । त्यसका लागि गैरसरकारी संस्थाहरुलाई  समेत मोबिलाइज्ड गरिरहेका छौं ।

नेपालमा मानवता भएका, मानवीय भावना भएका मानिसहरु पनि छन् । त्यस्ता संस्थाहरु पनि छन् । तिनीहरुसँग सहकार्य गरेर यस्तो काम गरिराखेका छौं । तिनीहरुलाई प्रोत्साहित गरिराखेका छौं । जुनसुकै हिसाबले होस् अहिले सडकमा त्यस्तो जीर्ण मानव छैन । नेपाल भिखारीहरुको देश होइन, त्यसकारण बेघर हुनुपर्दैन । त्यस्तो मान्छे भेटिए घर भएकालाई घर पठाइदिने, साँच्चै बेघर बनेकाको प्रबन्ध गरिदिने । त्यो हामीले गरेका छौं । देख्दा अलिक स–साना लाग्ने कुराहरु तर समाजको उत्थानको लागि धेरै महत्वपूर्ण कुरा हो यो । ता कि कोही मान्छे सडक मानव हुनु पर्दैन । यस देशमा तिनको पनि सरकार छ । सरकार भनेको तिनको पनि हो । त्यसरी हामीले काम गरेका छौं । तर, अहिले यस्ता कामहरुको प्रशंसामा लेख्ने कलम छैनन् । यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । यस्ता काम प्रकाशित गर्ने पत्रपत्रिका छैनन् । यस्ता कामहरुको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । कसैकसैले कतै कतै छ्यास्स छुस्स लेखिहालेछ भने त्यसले त्यहीँ गाली खान्छ– सरकारको दलाल भइस् कि क्या हो ? आलोचनात्मक चेत खै ? राम्रा कुरा गर्न थालिस्, बिग्रिइछस् । सकारात्मक कुरा पनि गर्न थालिस् । यस्तो भन्ने एउटा तप्का छ । जसलाई तथ्य मतलव छैन, निन्दा गर्नुलाई आलोचनात्मक चेत भन्छ । त्यस्ता कुराहरुबाट हामी प्रभावित हुँनुहुँदैन । नेपालले विकास गर्दैछ ।

आज मात्र मैले थाहा पाएँ २०१० सालमा नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई एउटा पत्र लेख्नु भएको रहेछ । नेपालका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला हुनुहुन्थ्यो, भारतका प्रधानमन्त्री जवाहराल नेहरु हुनुहुन्थ्यो । नेपालका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले पण्डित जवाहराल नेहरुलाई पत्र लेख्नु भएको रहेछ । त्यो पत्रमा दुईवेटा टाइपराइटर पठाइदिनुस् भनेर लेखिएको रहेछ २०१० सालमा । आज टाइपराइटर होइन, कम्प्युटर होइन, ल्यापटप होइन, आइप्याड तपाईंले नोट पनि गर्न मिल्ने, लेख्न पनि मिल्ने, सबै चिज गर्न मिल्ने मिनी कम्प्युटर तपाईंको मोबाइलमा, हरेकसँग छ । अथवा आजको भिन्नता कहाँ छ ? हामी कहाँ पुग्यौं ? हामी डिजिटल नेपालको कुरा गरिराखेका छौं । निरक्षरताको प्रतिशत माथि भएको नेपाललाई डिजिटल नेपालमा पु¥याउँने, पेपरलेस अफिस, पेपरलेस कारोवारका कुरा हामी गरिरहेका छौं । हाम्रो महत्वकांक्षा यस्तो चर्को छ ।

मैले रेलका कुरा गरेँ । उत्तरसँग पनि बाटो खोल्नु पर्छ र व्यापारिक सम्बन्ध बढाउँनु पर्छ भनेँ । पानीजहाजका कुरा गरेँ । पूर्व–पश्चिम रेलका कुरा गरेँ । उत्तर–दक्षिण रेलका कुरा गरेँ । अहिले तिनको सर्वेका कामहरु लगभग सकिएर अब ती निर्माणका क्रममा प्रवेश गर्दैछन् । पानीजहाजका कुरा गरेँ । समुन्द्र साझा हुन् । समुन्द्रको किनारको तीस किलोमिटर मात्रै कुनै देशको अधिकारको कुरा हो । त्यसकारण हामीले त्यसका लागि ट्रान्जिट पोर्टको ती देशहरुसँग सम्झौता गर्नुपर्छ ।
पहिले हामीलाई गाह्रो थियो । एउटा छिपछिपे पानी मात्रै भएको कोलकत्ताको पोर्ट थियो भने आज विशाखापटनम् होस् कि अर्को होस् कि बंगलादेश होस् कि चीन होस् कि अथवा उता मुम्बईतिरबाट, गोवातिरबाट होस् कि पूर्वतिरबाट होस् कि कताबाट चाहिन्छ, हामीलाई पोर्टको समस्या छैन । हामी त्यस स्तरमा गएका छौं । चीनसँग पनि हामीले विभिन्न ठाउँमा बन्दरगाहाहरु प्राप्त गरेका छौं । राष्ट्रको यस उपलब्धिलाई कुनै सम्पादकले जनतामा पु¥याउन लायक सन्देश ठान्दैनन् ।

हाम्रो बीचमा एउटा अवधि जसरी अगाडि जानुपर्दथ्यो, त्यसरी अगाडि गएन, यो यथार्थ हो । उद्योगहरु फस्टाउनु पर्दथ्यो । छालाजुत्ता कारखाना हाम्रोमा स्थापना भएको थियो । त्यसको संरक्षण गरेर, त्यसलाई बढावा दिएर जानुपर्दथ्यो  । त्यो बासँबारी छालाजुत्ता कारखाना समाप्त भयो । हामीलाई चाहिने कागज कारखाना हो । पढन किताब चाहिन्छ, लेख्न कपी चाहिन्छ, अनेक कामका लागि । डिजिटल हुँदा पनि हामीलाई लेख्न, पढ्न, सिक्न पुस्तकहरु चाहिन्छ । तर, त्यो पनि हामीले जोगाउन सकेनौं, त्यो पनि समाप्त भयो । यस्ता इन्डष्ट्रिज कति हो कति– हाम्रा मित्रराष्ट्रहरुले, दातृराष्ट्रहरुले हामीलाई इन्डष्ट्रिज स्थापना गर्न दिएको । तर, झन् लोकतन्त्र आएपछि ती इन्डष्ट्रिजहरु संरक्षित हुनुपर्ने, अगाडि बढ्नु पर्ने, भएनन् त्यसबेला । त्यसकारण मैले भनेको छु– हाम्रा पुराना इन्डष्ट्रिजहरु, तपाईंहरु ती इन्डष्ट्रिहरुमा सेयर राख्न चाहनुहुन्छ, तिनीहरुको म्यानेजमेन्ट लिन चाहनुहुन्छ, ठीक छ । उद्यमी व्यवयायीहरुले सेयर हाल्नुस्, म्यानेजमेन्ट गर्नुस् । अब स्थापना हुने उद्योग, व्यवसायमा सेयर हाल्नुस्, म्यानेजमेन्ट लिनुस् । सरकारी म्यानेजमेन्ट भन्दा प्राइभेट म्यानेजमेन्ट चुस्त हुन्छ भन्ने कुरा देखिएको छ । त्यसकारण म्यानेजमेन्ट, म्यानेजमेन्ट मात्रै लियो भने नेपालजस्तो देशमा त्यसले सफलता पाउँछ । बिना रिस्कको म्यानेजम्ट होइन, लगानी सहितको मेनेजमेन्ट हुनुपर्छ ।

हामी हरेक कुरामा उत्पादनमा प्रविधिको प्रयोग गर्न चाहन्छौं । नयाँ प्रविधि मिसाउन चाहन्छौं । यो कुरा सरकार र निजी क्षेत्र मिलेर मात्रै गर्न सकिन्छ । हामी कृषिप्रधान देशमा छौं । कृषि क्षेत्रमा हाम्रो लगभग दुई तिहाइ जनसंख्या छ । त्यस जनसंख्यालाई हामीले त्यहाँबाट निकाल्नु छ । त्यसका निम्ति कृषिको आधुनिकीकरण गर्नुछ । कृषिको आधुनिकीकरण गर्दागर्दै त्यसको साइडमा अनेक प्रकारका साना वा ठूला इन्डष्ट्रिजहरु र त्यस सँगसँगै त्यसले व्यापारको क्षेत्र बढाउँछ । त्यसैगरि हामीले यस वर्षलाई भिजिट नेपाल भनेका छौं । हुनत कतिपयले तयारी नगरिकन गरेको भनेर भनेका छन् । यस्तो भन्न सकिन्छ । तर कति वर्ष तयारी गरेर गर्ने ? हाम्रा प्रयासहरुलाई केन्द्रित गरि भिजिट नेपाल पनि सफल पार्छाैं । भिजिट नेपाल सफल पारिरहंदा भिजिट नेपालमा मात्र हाम्रो ध्यान जान्छ भन्ने होइन । हामी गाउँमा नपढिरहेका, पछाडि परेका, स्कूल नपुगेका बालबालिकालाई स्कुल पनि पु¥याइरहेका छौं । स्कूलबाट ड्रपआउट हुने कुरालाई रोकिराखेका छौं । त्यसको पनि प्रबन्ध हामी मिलाइराखेका छौं । देख्दाखेरी सानो कुरा हो, तर हामीले स्कूल जाने बालिकाहरुका लागि स्यानेटरी प्याडहरु वितरण गरेका छौं । देख्दा सानो कुरा छ, तर उनीहरु त्यस्ता कुराबाट ड्रपआउट हुँदैनन् । उनीहरु त्यसबाट स्कूल नजाने गर्दैनन् ।

हाम्रो समाज त छाउगोठ र छाउपडीवाला समाज हो । हामी कहाँ छौं भन्दा छाउपडीवाला दुनियाँमा छौं । तर, त्यस स्थितिबाट हामी माथि उठ्नु पर्छ । त्यस स्थितिबाट सामाजिक जागरण हामीले ल्याउनु पर्छ । हामी त्यो गर्दैछौं । हामीले ओडिएफ कन्ट्री अथवा खुला दिसामुक्त देश घोषणा गरेका छौं । नेपाल जस्तो देशलाई खुला दिसा मुक्त गर्नु सहज कुरा होइन । यो सभ्यताको एक लेवल माथि चढ्यो । त्यो एउटा सभ्यताको ठाउँमा पुग्यो । काठमाडौं पुरानो शहर हो । यहाँ पुरानो सभ्यता छ । यहाँ कला–संस्कृति छ । तर ट्वाइलेट हुँदैन्थ्यो । मानिसहरु भ¥याङमुनी बस्ने । अहिले भ¥याङमुनीबाट ट्वाइलेटमा सार्ने काम भएको छ । तराइतिर त जलमैदान हुन्थ्यो । त्यो जलमैदानवालाबाट शहर बनाइएको छ । त्यसरी हामी एकएक स्तर उठिरहेका छौं ।

हाम्रा दाजुभाइ दिदीबहिनीहरु तुइनमा झुण्डिएर देशभरी खोला तर्दैथिए । त्यस ठाउँमा तुइन विस्थापित भएको छ, पुल बनेको छ । मैले तुइन विस्थापनको घोषणा गरेँ, अनि अलिकति मजाकमा उडाउन खोजे मान्छेहरुले । मैले दुईवर्ष भित्र टुङ्ग्याउने भनेको थिएँ । आफैँ ७–८ महिनामा सरकारबाट गएपछि दुई वर्षमा कहाँबाट हुन्थ्यो । फर्किएर आएपछि फेरि अगाडि बढाएँ । अहिले ती ठाउँहरुमा पक्की पुल बने पनि तीन वर्ष अघिका तस्बिर राखेर खै तुइन हटाएको भनेर प्रश्न गर्ने गरिन्छ । यो आलोचनात्मक चेतका कारण होइन, निन्दाका कारण यस्तो भइरहेको हो । मैले मै बनाउँछु मेरो धरहरा भनेर सुरु गरेको थिएँ । त्यो भन्ने बित्तिकै म माथि तरवार चल्यो, ल बना धराहरा भनेर । प्रधानमन्त्रीमा फेरि फर्किएर आएर फेरि बनाउन सुरु गरेँ । अहिले चार तल्ला माथि उठिसक्यो । अब बाटो हिंड्दा पनि तपाईंहरु देख्न सक्नुहुन्छ । अर्काे वर्षको कात्तिकसम्म तपाईंहरु धरहराको टुप्पोमा चढ्न सक्नुहुन्छ । त्यहाँ हिंडेर पुग्न नसक्ने बुढाबुढीको लागि लिफ्टको प्रबन्ध गरिएको छ । बच्चा बोकेर पनि लिफ्टबाट जाने प्रबन्ध हुन्छ । विवाद गर्न नेपालीलाई आउँछ । जेमा पनि विवाद गर्ने । रानीपोखरीको पनि बारमा ताला लगाउनेदेखि तमासा अनेक भए । तर अब रानीपोखरी बन्दैछ । चैत भरिमा तयार भइसक्छ । खुलामञ्च, रत्नपार्क, टुँडिखेल, सिंहदरवार यस ठाँउलाई नयाँ ढंगले पुनःसंरचना गरेर काठमाडौं जस्तो बनाइन्छ ।

हामी एउटा मात्रै काम गर्दै छैनौं । टोखाबाट छहरे, वेत्रावतीबाट स्याफ्रुबेंसी टनेल गरेर एक घण्टामा ल्हासा पुग्ने प्रबन्ध गर्दैछौं, त्यो पनि हुँदैछ । फास्ट ट्रयाकको कुरा मात्र भइराखेको थियो । मैले हामी आफैं बनाउँछौं फास्ट ट्रयाक भनेर त्यसमा १० अर्व रुपैयाँ छुट्याएर काम सुरु भयो । फास्ट ट्रयाकको ट्रयाक ओपन लगभग भइसकेको छ । अब चार वर्ष भित्र हामी त्यसलाई कम्लिट गर्छाैं । तातोपानी नाका बन्द थियो । अब तातोपानी नाका खुलेको छ र अब राम्रो बाटो, डबल लेनको पक्कि बाटो तातोपानी तर्फ पनि हुन्छ । कोरला नाकातिरबाट पनि बाटो खुल्छ । यो सबै नेपालको ब्यापारलाई प्रवद्र्धन गर्नका लागि हो । हाम्रा पूर्वजहरु ल्हासा व्यापार गर्दथे । मैले पटक पटक भिजिट गरेको छु । ल्हासामा एउटा हाम्रो मात्रै कन्सुलेन्ट अफिस छ । अरु कुनै देशको छैन । अहिले हाम्रो कन्सुलेन्ट अफिस तिब्वत सरकारले, चीन सरकारले नयाँ कन्सुलेन्ट अफिस राम्रो बनाइदिएको छ । र, हामी दुवै तर्फको व्यापारलाई उचित प्रबन्ध गर्न खोजिराखेका छौं, तयार गरिराखेका छौं ।

गोरखामा भारतीय सरकारको सहयोगमा बनाएका घरहरुको हस्तान्तरण गर्दैछौं ।  यहाँ सिंहदरवारबाट मैले र दिल्लीबाट मोदीजीले उद्घाटन गर्दैछौं । मोतीहारी–अम्लेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गरेजस्तै यसमा पनि उद्घाटन गर्दैछौं हामी । छिट्टै नै ।
आइसीपीटीआर पनि तयार हुँदैछ । इन्टरमिडियट चेकपोष्ट । यसरी कामहरु जाँदै छन् । कोलकातामा र अरुतिर पनि नेपाली कन्टेनरहरुका लागि के सहजीकरण गरिएको छ, यहाँहरुलाई थाहा छ । निकासी हुने नेपाली अदुवामा समस्या छ भनिरहेका छन् । हामी यसमा के समस्या छ, खोजेर त्यो समाधान गर्दैछौं । अहिले मलेसियासँगको अन्तरविरोधका कारणले पाम आयलको असर नेपाललाई परेको छ । त्यो असर खोल्न हामी वार्ता गर्दैछौं । मलाई विश्वास छ हामी त्यो जरुर गर्न सक्छौं । अनेक चिजहरुमा हामी एकपछि अर्को सफलता प्राप्त गरिरहेका छौं । हामी एकपछि अर्को सफलताका साथ अगाडि बढेका छौं भने  उद्योग वाणिज्यका क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न नसकिने समस्या होइन ।  राष्ट्रिय समस्या त हामी सजिलोसँग समाधान गरेर नेपाललाई एउटा नयाँ उचाईमा लगिराखेका छौं । जटिल समस्याहरु त हामी नयाँ उचाईबाट समाधान खोजिरहेका छौं भने यी त हाम्रा आफ्नै समस्याहरु, आन्तरिक समस्या हुन् । होला.. यो  प्रारम्भिक दौडमा केही असजिलो केही अफ्ठ्यारो होला । मैले भनेको छु– कुन कानूनमा कहाँ संशोधन हुनु प¥यो त्यो तपार्इंहरु मस्यौदा गरेर लिएर आउनुस् । कहाँनिर संशोधन गर्नु प¥यो के ब्यहोरा हटाउने, के राख्नु प¥यो, त्यो छलफल गरांै, संशोधन गरेर अगाडि बढौं । कहाँनिर केले अफ्ठ्यारो भयो ? के ले असुविधा भयो ? त्यो कुरा मकहाँ आओस् । तर ब्यवसायिक क्षेत्रले पनि हामी राष्ट्र निर्माणको एउटा आम अभियानमा छौं भन्ने कुरालाई ध्यानमा राखेर इमानदार भएर काम गर्नु पर्छ । यो सरकार भन्ने कुरा छकाउने कुरा हो यसलाई छकाउनु पर्छ भन्ने होइन ।

हामीले सरकारलाई होइन देशलाई छकाइराखेका हुन्छौं । त्यसकारण छकाउने काम नगरौं जसलाई हामी गैरकानुनी काम भन्छौं त्यो नगरौं र कानुनमा कति सरलता सहजता चाहिन्छ त्यो सरकारले गर्छ । कानुनी ढंगले सहज बनाउने काम  सरकारले गर्छ, पहिले । करका कुरा सुनेको छु पटक पटक । ती कुराहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छु । सम्पत्तिको अभिलेखीकरण वा लेखांकन गर्ने कुरा  गरौंला । पहिले लगानी बढ्नु प¥यो । निस्क्रिय सम्पत्तिलाई सक्रिय बनाऔं । घरमा पैसा नराख्नुस्, लगानी गर्नुस्, मेरो आग्रह छ । बैंकमा अलि  कम राख्नुस् । लगानी बढी गर्नुस् । लगानी गर्नका लागि बैंकबाट लोन लिनु पर्छ वा  बैंकमा पैसा राख्नु पर्छ । पैसा बैंकमा राख्ने भनेको घरमा राखेजस्तै हो । मुख्य कुरा चाहीँ लगानीमा ध्यान दिनुहोस् । त्यसले रोजगारीमा र उत्पादनमा सघाउँछ । आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, त्यस प्रकारका क्षेत्रहरुमा लगानी गर्नुहोस्, जसले प्रतिफल दिन्छ । अनावश्यक खालका खर्चमा केटाकेटीको पनि आदत नबिगार्नुस् । आनावश्यक खर्च, फजुल खर्च अक्सर मैले देखेको छु । नेताहरुले छोराछोरी पुल्पुल्याउने र बिगार्ने गरेको भनी कहिलेकाहीँ चर्चामा आउँछ । फलानो नेताको फलानो छोरा यस्तो बिग्रियो यस्तो भयो । बाउ बिग्रियो, आमा बिग्रियो, नेताको छोरा भएर भनेर टेलिभिजनमा देखाउँछ । ए तैंले चिनेको छस्, म कसको छोरा भनेर टेलिभिजनमा नेताको छोराको अनुहार देखाउँछ । अनि अर्को आउँछ र यो कसको छोरा मलाई त थाहा छैन, सीसीटीभीलाई थाहा होला भनेर सीसीटीभी जडान गरेको कुरा बताउँछ । अब हामी धेरै त्यस्ता लफडा हुन दिंदैनौं, किनभने प्रायः ठाउँहरुमा हामी सीसीटीभी जडान गर्छाैं । जसले नेताको छोरा, कसको छोरा भन्ने कुरा चिन्छ र व्यवार हेर्छ । र, व्यवहार अनुसारको कारवाही गर्छ ।
यसकारण हामी नयाँ युगतर्फ, नयाँ गतिका साथ अगाडि बढ्दैछौं । यस कुरामा तपाईंहरुको क्षेत्रको भूमिका असाधारण छ । त्यस भूमिकालाई तीब्र बनाउनु प¥यो । सरकारका तर्फबाट पूराका पूरा सहयोग हुन्छ । सरकार तपाईंहरुको साथमा छ ।

तपाईंहरुलाई अप्ठ्यारोमा पारेर आर्थिक उन्नति हुन सक्दैन । तपाईंहरुलाई निराश बनाएर आर्थिक उन्नति हुन सक्दैन । तपाईंहरुलाई लगानी गर्ने, कारोबार गर्ने कुरामा हतोत्साहित गरेर, त्रसित बनाएर आर्थिक उन्नति हुँन सक्दैन । त्यसकारण सरकारले तपाईँहरुको मनदेखि त्रास हटाउने काम गर्छ । सरकार तपाईंहरुको मित्र हो । सरकार तपाईंहरुको सहयोगी हो । तपाईंको कारोवारलाई सहज बनाउँछ । त्यसैकारण मैले किन जलमार्गका कुरा गरेको छु ? पानीजहाज चलाउन म जाने त होइन । किन विभिन्न बाटाहरु खोलिराखेको छु ? किन बाटाहरु चौडा गरिराखेको छु ? अरु देशसँग व्यापारको प्रबन्ध सजिलो बनाउने, विभिन्न देशहरुसँग एमओयू गर्ने र सम्बन्धहरुलाई अगाडि बढाउने किन गरिराखेको छु ? हाम्रो देशको एयरलाइन्सको डेस्टीनेशन विभिन्न ठाउँमा किन बिस्तार गरिरहेको छु ? । किन गरिराखेको छु भन्दा विभिन्न ठाउँमा हामी जाऔँ । विभिन्न ठाउँका मान्छे यहाँ आउन् । विभिन्न ठाउँमा हामी सामान पठाऔं । त्यो म किन भनिराखेको छु ?
किनभने हाम्रो उद्देश्य को कहाँनिर छ भन्ने होइन । कसको प्रत्यक्ष सम्बन्ध के मा छ भन्ने होइन । हामी राष्ट्र निर्माणको एउटा महान उद्देश्यमा जुटेका छौं र त्यो अभियान हाम्रो साझा अभियान हो । त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु ढुक्क हुनुहोस् र अगाडि बढ्नुहोस् । केही प¥यो भने सरकारलाई भन्नुस् । राज्यमन्त्री तपाईंहरुकै सेक्टरबाटै हुनुहुन्छ । उहाँले समस्या बुझ्नु भएको छ । हामी पनि यहीँ ठाउँमा बसेर, यहीँ जन्मिएर, यहीँ हुर्किएको हुनाले समस्या त हामीले अलिअलि बुझेकै छौं । मन्त्रीजीले पनि समस्या नबुझने कुरा छैन, बुझ्नु भएको छ । केही बुझ्न बाँकी रहेछ भने बुझ्दै जाउँला । तपाईंहरुले भनेपछि बुझिन्छ कि यहाँ समस्या परेछ । त्यसकारण पारस्परिक विश्वासका साथ ढुक्कले अगाडि बढ्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

सञ्चारकर्मीकाे हत्यामा संलग्न २ जनालाई ३९ वर्ष कैद

Read Next

बिएण्डसी का सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *