पीडित किसानबाट क्षतिपूर्ति माग

बेत्रावती, २१ मङ्सिर (रासस):  
गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।

गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिनुभयो ।
उहाँको अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।

“किसानले लगाएको धान नफलेपछि सरकारले क्षतिपूर्ति दिन सकिने आश्वासन दिएपछि उनीहरुसँग निवेदन सङ्कलन भइरहेको छ”, केन्द्र प्रमुख दुवाडीले भन्नुभयो, “प्राप्त निवेदनअनुसार क्षतिपूर्तिको लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौँमा सिफारिस गर्नेछौँ ।” केन्द्रले क्षतिपूर्तिको लागि वडा तथा स्थानीयतहको सिफारिस, बीउ खरीद गरेको बिल र क्षति भएको धानखेतको तस्वीरलगायतका प्रमाण खुल्ने विवरणसहित निवेदन दिन किसानलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् । गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।–––

adminbikash

Read Previous

‘उप’भनेर हेरिने दृष्टिकोण बदल्नुपर्छ

Read Next

आर्थिक अभावमा रामजानकी मन्दिर निर्माण कार्य रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *