निजी मेडिकल कलेजको अतिरिक्त शुल्क फिर्ता प्रक्रिया आजदेखि

सरकार र निजी मेडिकल कलेजबीच मंगलबार राति भएको दुई बुँदे सहमति अनुसार आज (बुधबार) देखि निजी मेडिकल कलेजको अतिरिक्त शुल्क फिर्ता प्रक्रिया अगाडि बढ्ने भएको छ ।

मेडिकल कलेजका विद्यार्थी–अभिभावकको विरोध र सरकारको कारवाही गर्ने पटक–पटकको चेतावनीपछि निजी मेडिकल सञ्चालकहरु विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्न तयार भएका हुन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार मध्यराति यस विषयमा सहमति जुटेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट असुलेका अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सहमतिअनुसार आज (बुधबारे) देखि नै शुल्क फिर्ता प्रक्रिया शुरु हुने भएको छ । सहमतिपछि मंगलबार राति नै पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री पोखरेलले भने, ‘मेडिकल कलेजहरू शुल्क फिर्ता गर्न वा आवश्यकताअनुसार समायोजन गर्न सहमत भएका छन् । यो काम बुधबारदेखि शुरु हुन्छ ।’

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो । छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो ।

सहमतिअनुसार शैक्षिक वर्ष ०७४–७५ र ०७५–७६ मा सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले फिर्ता वा समायोजन गर्ने भएका छन् । दुवै शैक्षिक वर्षमा मेडिकल कलेजले विद्यार्थीसँग बैंकिङ प्रणालीबाट रकम लिएका थिए ।

यस्तै शैक्षिक वर्ष ०७२–७३ र ७३–७४ का लागि सम्बन्धित विश्वविद्यालयसँगको समन्वयमा अतिरिक्त शुल्क लिएको वा नलिएका विषयमा चिकित्सा शिक्षा आयोगबाट अध्ययन गर्ने सहमति भएको छ ।

यस्तै शैक्षिक वर्ष ०७६–७७ का लागि भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार विद्यार्थी भर्ना प्रक्रिया गर्न र वैज्ञानिक ढङ्गबाट शुल्क निर्धारण गर्न दुवै पक्ष सहमत भएका छन् । सहमतिपत्रमा शिक्षा मन्त्रालयका अधिकारी तथा मेडिकल कलेजका सञ्चालकहरूले हस्ताक्षर गरेका छन् ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

स्वास्थ्य सचिव चौधरी एक महिनादेखि सम्पर्कविहीन

Read Next

विश्व एकै दिनमा गुमाए ८० अर्ब रुपैयाँ टेस्लाका मालिकले

Leave a Reply

Your email address will not be published. Required fields are marked *